धनुषाधामका मेयरले कुटपिट गरेको भन्दै सहलेखापालले दिए उजुरी

धनुषाधामका मेयरले कुटपिट गरेको भन्दै सहलेखापालले दिए उजुरी

जनकपुरधाम: धनुषाको धनुषाधाम नगरपालिकामा सह–लेखापाल सुरेशकुमार मण्डलले नगर प्रमुख बालेश्वर मण्डलमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोप लगाएका छन्। उनले मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषामा औपचारिक उजुरीसमेत दर्ता गराएका छन्।

उजुरीमा उल्लेख गरिएअनुसार, नगर प्रमुखले उनलाई कार्यकक्षमा बोलाई मोबाइल खोसेर कुटपिट गरेका थिए। घटनापछि आफू ज्यान जोगाउन कार्यालयबाट भाग्न बाध्य भएको मण्डलले दाबी गरेका छन्।

मण्डलका अनुसार, लेखा अधिकृतको सरुवा भएपछि उनले मंसिर २८ गते लेखासम्बन्धी कागजात बुझबुझारथ गरेका थिए र त्यसपछि तालिमका लागि काठमाडौं गएका थिए। सोही अवधिमा लेखा परीक्षण तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासबाट अनुसन्धान भइरहेका बेला लेखा शाखाको साँचो कम्प्युटर अपरेटर पुरुषोत्तम कुमार मण्डलकहाँ रहेको र उनी हाल सम्पर्कविहीन रहेको जनाइएको छ।मंगलबार कार्यालयमा फर्किएपछि नगर प्रमुखले साँचो दिन अस्वीकार गर्दै आफूलाई बोलाएर दुर्व्यवहार गरेको उनको आरोप छ। साथै, नगर प्रमुखले प्रयोगमा रहेको मोबाइलसमेत खोसेको र अन्य कर्मचारीको सहयोगमा आफू बाहिर निस्कन सफल भएको उनले बताएका छन्।

मण्डलले लेखा शाखाको साँचो नगर प्रमुखकै नियन्त्रणमा रहेको दाबी गर्दै अख्तियारमा परेको उजुरीसँग सम्बन्धित कागजात नष्ट गर्ने प्रयास हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनले आफूलाई ज्यानको खतरा रहेको भन्दै हाल कार्यालय जान असमर्थ रहेको उल्लेख गरेका छन्।उता, लेखा समूह धनुषाले पनि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न नगर प्रमुखमाथि कारबाहीको माग गरेको छ। ज्ञापनपत्रमा कानुन कार्यान्वयन गराउने जिम्मेवारीमा रहेको व्यक्तिबाटै यस्तो कार्य हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ।

साथै, सह–लेखापाल मण्डलसहित सम्पूर्ण कर्मचारीको कार्यस्थलमा शान्ति र सुरक्षा सुनिश्चित गर्न प्रशासनसँग माग गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार