बन्दीपुरमा गाउँ पर्यटन मार्ट : होमस्टे गाउँले पर्यटकलाई निम्तो

बन्दीपुरमा गाउँ पर्यटन मार्ट : होमस्टे गाउँले पर्यटकलाई निम्तो

पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लाका सामुदायिक होमस्टे सञ्चालकहरू तनहुँको बन्दीपुरमा भेला भई गाउँ पर्यटन मार्टमार्फत आफ्ना गाउँको प्रचारप्रसारमा जुटेका छन् । काउलेपानीकी तिलमाया गुरुङले परम्परागत रूपमा प्रयोग हुने चिनो पाहुनालाई लगाइदिँदै गाउँ भ्रमणको निम्तो दिइरहेकी छन् । पहिले युवतीहरूले पुरुषलाई दिने उक्त चिनोले सुरक्षा र देवताको आशिर्वाद मिल्ने विश्वास रहिआएको उनले बताइन् । अहिले यही परम्परालाई निरन्तरता दिँदै होमस्टेमा आउने पाहुनालाई बिदाइ गर्दा चिनो दिने गरिएको छ ।

मार्टमा काउलेपानी, ताङतिङ, सिक्लेस, केशवटार, ओडार, थकाली र पाखाथरलगायतका होमस्टेहरूले आफ्ना विशेषता प्रस्तुत गर्दै पर्यटक आकर्षित गरिरहेका छन् । ताङतिङका महिलाहरूले निगुरो र सिस्नोको किम्ची, अल्लोबाट बनेका सामग्री बिक्रीमा राखेका छन् भने अन्य स्टलहरूमा पनि स्थानीय उत्पादन किन्नेहरूको भीड देखिएको छ । पिप्रहर सामुदायिक होमस्टेले रैथाने खाना, सांस्कृतिक नाच तथा जंगल सफारीको अनुभव लिन सकिने जानकारी दिँदै पर्यटकलाई लोभ्याइरहेको छ ।

मार्टमा सहभागी करिब दुई दर्जन होमस्टे अभियान्ताहरूले अनुभव साटासाट गर्दै ग्रामीण पर्यटनलाई कसरी अझ प्रभावकारी बनाउने भन्ने विषयमा छलफलसमेत गरिरहेका छन् । उद्घाटन समारोहमा गण्डकी प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले गाउँ बलियो भए मात्र समग्र विकास सम्भव हुने उल्लेख गर्दै पर्यटनलाई त्यसको मुख्य आधारका रूपमा लिनुपर्ने बताइन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस्ता कार्यक्रमले पर्यटनलाई व्यावसायिक बनाउन सहयोग पुग्ने धारणा राखे ।

बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले ग्रामीण पर्यटन सर्किट विस्तारमा ‘गाउँ सफारी’ले महत्वपूर्ण भूमिका खेलेको बताए भने गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले ऐतिहासिक गोरखालाई पुनः उजागर गर्न यस्तो कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । गाउँ पर्यटन प्रवर्द्धन मञ्च गण्डकीकी अध्यक्ष शोभा सापकोटाले मार्टले ग्रामीण पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने बताइन् । दुई पटक पोखरामा आयोजना भइसकेको यो मार्ट यसपटक बन्दीपुरमा गरिएको हो भने आगामी वर्ष गोरखामा आयोजना गर्ने घोषणा गरिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार