उद्योगी व्यवसायीलाई नडराउन रवि लामिछानेको आग्रह

उद्योगी व्यवसायीलाई नडराउन रवि लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गर्दै सरकार निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीतिगत सुधारमार्फत अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यमा रहेको बताएका छन् । आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सुशासन अभियानमा साथ दिन आह्वान गर्दै सरकार सहकार्यकै आधारमा अघि बढ्ने स्पष्ट पारे । विगतमा राजनीतिक अस्थिरता र शक्तिकेन्द्रको दबाबका कारण व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै अब त्यस्तो अवस्था दोहोरिन नदिने विश्वास दिलाएका उनले नीतिगत रूपमा सुरक्षा सुनिश्चित गरिने बताए । यद्यपि अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिमाथि राज्यले कडाइका साथ निगरानी राख्ने उनको भनाइ छ । उनले व्यवसायीहरूमा देखिएको डर हटाउन संवाद गरिएको जनाउँदै विगतका कमजोरी सुधार गर्न आन्तरिक लेखापरीक्षण गर्दै राज्यसँग सहकार्य गर्न आग्रह गरे । वर्तमान सरकार चुनावी वाचापत्रअनुसार नै अघि बढ्ने दाबी गर्दै उनले नीतिगत सुधार, सुशासन र आर्थिक सुधारलाई प्राथमिकतामा राखिएको बताए । साथै अब उद्योगी व्यवसायीहरूले समस्या लिएर नेताको घरघरमा पुग्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति : २०८३ बैशाख २० गते आइतवार