काठमाडौँ । वातावरण विभागले विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको आयात तथा स्वदेशी उत्पादनमा दिइने कर र भन्सार महसुल छुटलाई व्यवस्थित गर्न दुईवटा कार्यविधिको मस्यौदा सार्वजनिक गरेको छ। मस्यौदाअनुसार नेपालमा उत्पादन हुने डिप साइकल लिड–एसिड ब्याट्रीमा शून्य दरमा मूल्य अभिवृद्धि कर (VAT) सिफारिस तथा काठमाडौँ उपत्यकामा सञ्चालित सफा टेम्पुका लागि आयात गरिने डिप साइकल लिड–एसिड र लिथियम–आयन ब्याट्रीमा भन्सार महसुल छुटको व्यवस्था प्रस्ताव गरिएको छ। सरकारी सहुलियतको दुरुपयोग रोक्दै वास्तविक अन्तिम उपभोक्तासम्म यसको लाभ पुर्याउनु कार्यविधिको मुख्य उद्देश्य रहेको छ।
स्वदेशी उत्पादकले कर छुटको सिफारिस लिन उद्योग दर्ता, कर चुक्ता, PAN/VAT दर्ता तथा ब्याट्रीको प्राविधिक विवरणसहित वातावरण विभागमा निवेदन दिनुपर्नेछ। त्यसैगरी, ब्याट्री आयात गर्ने कम्पनीले कम्पनी दर्ता, कर चुक्ता, PAN/VAT, EXIM कोड, आधिकारिक खरिद बिल र प्राविधिक स्पेसिफिकेसन पेस गर्नुपर्नेछ। प्रस्तावित व्यवस्थाअनुसार HS 8507.20.00 अन्तर्गतका डिप साइकल लिड–एसिड तथा HS 8507.60.00 अन्तर्गतका लिथियम–आयन ब्याट्रीले भन्सार छुटको सिफारिस पाउनेछन्। यस्तो छुट काठमाडौँ उपत्यकामा सफा टेम्पु सञ्चालनका लागि प्रयोग हुने ब्याट्रीमा मात्र लागू हुने व्यवस्था गरिएको छ।
मस्यौदाले छुटमा उत्पादन वा आयात भएका ब्याट्रीको बिक्रीदेखि अन्तिम प्रयोगसम्म ट्र्याकिङ गर्ने व्यवस्था पनि गरेको छ। बिक्री विवरणमा अन्तिम उपभोक्ताको नाम, ठेगाना, फोन नम्बर, नागरिकता नम्बर, सफा टेम्पुको नम्बर, बिक्री मिति, बिक्री संख्या र बाँकी मौज्दात खुलाउनुपर्नेछ। यसअघि छुटको सिफारिस पाएका उत्पादक तथा आयातकर्ताले पुराना ब्याट्री अन्तिम उपभोक्तालाई बिक्री गरेको विवरण बुझाएपछि मात्र नयाँ सिफारिस पाउनेछन्। विभागका अनुसार यस व्यवस्थाले कर तथा भन्सार छुटमा ल्याइएका ब्याट्रीको दुरुपयोग, कृत्रिम अभाव सिर्जना तथा महँगोमा बिक्री गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सहयोग पुग्नेछ।