सरकारको ६ महिनाको उपलब्धि : ४२ जिल्लामा सुपथ मूल्य पसलदेखि पूँजी बजार सुधारसम्म

सरकारको ६ महिनाको उपलब्धि : ४२ जिल्लामा सुपथ मूल्य पसलदेखि पूँजी बजार सुधारसम्म

काठमाडौं । सरकारले आफ्नो पहिलो ६ महिनाको कार्यकालमा आर्थिक सुधार, व्यापार तथा लगानीका क्षेत्रमा विभिन्न काम अघि बढाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको उपलब्धि सारांशअनुसार चाडपर्व लक्षित सुपथ मूल्य पसल ४२ जिल्लाका ६१ स्थानमा सञ्चालन गरिएको छ।

उद्योग, आपूर्ति तथा लगानीतर्फ लगानी बोर्डमा एकद्वार स्वीकृति प्रणाली सञ्चालनमा ल्याइएको सरकारले जनाएको छ। त्यस्तै, खानी उत्खनन तथा खोजतलासका लागि १०६ वटा नयाँ अनुमतिपत्र जारी गरिएको उपलब्धि विवरणमा उल्लेख छ।करदाता सुविधा तथा आयात सहजताका लागि १२० स्थानीय तह र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान) सहितको करदाता सेवा सुरु गरिएको छ। विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको पैठारीमा लाग्ने भन्सार महसुल र पूर्वाधार शुल्कमा ५० प्रतिशत छुट दिइएको पनि सरकारले जनाएको छ।

आर्थिक सुधार तथा वित्तीय सुशासनतर्फ नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरिएको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसका आधारमा १५ वटा पुराना ऐन खारेज गर्ने प्रक्रिया अघि बढाइएको उपलब्धि सारांशमा उल्लेख छ।सार्वजनिक संस्थान सुधारअन्तर्गत रुग्ण अवस्थामा रहेका उदयपुर सिमेन्ट, गोरखकाली रबर तथा हेटौंडा सिमेन्टलगायत संस्थानको ड्यु डिलिजेन्स अडिट सम्पन्न गरिएको छ। पूँजी बजारतर्फ २१ बुँदे पूँजी बजार सुधार कार्ययोजना २०८३ कार्यान्वयनमा ल्याइएको सरकारले जनाएको छ।यसैगरी, एटीएफको ग्रे–लिस्ट सुधारतर्फ मूल्यांकनका क्रममा तीन वटा कार्य पूर्ण र चार वटामा आंशिक प्रगति हासिल भएको सरकारको दाबी छ। उपलब्धि सारांशमा नेपाललाई शीघ्र ग्रे–लिस्टबाट बाहिर निकाल्ने रणनीति कार्यान्वयन भइरहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार