काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ। गत पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेसँगै प्रतिनिधिहरू विभिन्न समूहमा विभाजन भएर छलफलमा सहभागी भएका हुन्।कांग्रेसले बन्दसत्रलाई हिमाल, पहाड र तराई–मधेस गरी तीन क्लस्टरमा विभाजन गरेको छ। सुरुवातमा पहाड क्लस्टरको बन्दसत्र सञ्चालन गरिएको छ। बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेस हल निर्धारण गरिएको छ। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरिएको कांग्रेसले जनाएको छ।हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्। त्यस्तै, पहाड हलमा बागमती प्रदेशका १ हजार २१७ र लुम्बिनी प्रदेशका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि सहभागी छन्। तराई–मधेस हलमा मधेस प्रदेशका १ हजार २५६, सुदूरपश्चिम प्रदेशका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ संगठनका २२५ प्रतिनिधि सहभागी छन्।
बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलले पेस गरेको पार्टी सञ्चालन तथा विधानसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक प्रस्तावमाथि छलफल हुने भएको छ। कांग्रेसका अनुसार राजनीतिक प्रस्तावमा आगामी चार वर्षका लागि पार्टीको कार्यदिशा, सरकार, देशको समग्र अवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्ध र दृष्टिकोण समेटिएको छ।कांग्रेसले आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्दा नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने नीति अघि सारेको छ। नेतृत्व एकेडेमीबाट प्रशिक्षण तथा अध्ययन पूरा गरेका व्यक्तिलाई उम्मेदवार बनाउने अवधारणा प्रस्ताव गरिएको छ। यसबाट सक्षम नेतृत्व निर्माण र सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने कांग्रेसको अपेक्षा छ।
महामन्त्री पौडेलले पेस गरेको विधानसम्बन्धी प्रस्तावमा पार्टी सञ्चालन, निर्णय प्रक्रिया तथा पार्टीका विभिन्न तहमा जिम्मेवारी र संरचनालाई व्यवस्थित गर्ने विषय समेटिएको छ। नयाँ विधानको प्रारम्भिक खाकामा वडा, क्षेत्र र जिल्ला तहमा थप पद सिर्जना गर्ने प्रस्तावसमेत गरिएको छ।कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार प्रस्तावित संरचना अहिले प्रारम्भिक खाका मात्रै हो। बन्दसत्रमा प्रस्ताव पेस भई प्रतिनिधिहरूबाट पारित भएपछि मात्रै यसले अन्तिम रूप पाउनेछ। विशेष महाधिवेशनबाट निर्माण भएको वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक भएको पनि उनले जानकारी दिएका छन्।