काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस रूपान्तरण भएको दाबी गरेका छन्। नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्सुरले विशेष महाधिवेशनमार्फत कांग्रेस नयाँ नीति, नयाँ विचार र नयाँ नेतृत्वका साथ अघि बढेको बताए। भदौ २३–२४ पछि पार्टी र जनतामा देखिएको निराशा तथा आक्रोशलाई सम्बोधन गर्न कांग्रेसले नयाँ नीति र नेतृत्व लिएर जनतामाझ जानुपर्ने धारणा आफूले केन्द्रीय कार्यसमितिमा राखेको उनले स्मरण गरे। आफूले नै गगन थापालाई प्रधानमन्त्री र पार्टी सभापतिको ‘फेस’ बनाएर जनतामाझ लैजानुपर्ने प्रस्ताव गरेको उल्लेख गर्दै मन्सुरले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले थापालाई कांग्रेसको भरोसायोग्य नेता र पार्टीलाई भरपर्दो राजनीतिक शक्तिका रूपमा स्थापित गरेको बताए। सभापति थापाले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै कांग्रेसको रूपान्तरणलाई संस्थागत गर्न आफ्नो भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ। कांग्रेसमा आफूले जीवन समर्पित गरेको र राजनीतिमा सधैँ इमानदारीपूर्वक लागेको उल्लेख गर्दै मन्सुरले १५औँ महाधिवेशनमा समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दिएको जानकारी दिए। पार्टीले अघि सारेका नीति तथा कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको उनले स्पष्ट पारे।