संवैधानिक इजलास गठनमा वरिष्ठता वा गोलाप्रथा लागू गर्न नेपाल बारको माग

संवैधानिक इजलास गठनमा वरिष्ठता वा गोलाप्रथा लागू गर्न नेपाल बारको माग

काठमाडौँ। नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनमा वरिष्ठता वा गोलाप्रथा प्रणाली लागू गर्न माग गरेको छ। बारले बुधबार विज्ञप्ति जारी गर्दै संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गरिनुपर्ने र त्यसो गर्न वस्तुगत अवस्था नरहे गोलाप्रथा प्रणाली अवलम्बन गर्नुपर्ने माग गरेको हो।

नेपाल बारले संवैधानिक इजलास गठनलाई प्रधानन्यायाधीशको व्यक्तिगत तजबिजको विषय बनाउने प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाएको छ। स्पष्ट, वस्तुगत र पूर्वनिर्धारित मापदण्डबिना न्यायाधीश छनोट गर्दा न्यायिक निष्पक्षता तथा न्यायपालिकाको संस्थागत विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने बारको भनाइ छ। बारले विगतमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकालमा इजलास गठन तथा न्यायिक प्रशासनमा देखिएको अपारदर्शी र मनोगत प्रवृत्तिविरुद्ध न्याय क्षेत्र आन्दोलनमा उत्रिएको स्मरण गराएको छ। त्यस्ता अभ्यास दोहोरिन नदिन संवैधानिक इजलास गठनमा स्पष्ट र निष्पक्ष प्रणाली आवश्यक रहेको बारले जनाएको छ।

संवैधानिक इजलास गठनमा देखिएको मनोगत, मापदण्डविहीन र स्वेच्छाचारी अभ्यास तत्काल अन्त्य गरी वरिष्ठता वा गोलाप्रथा प्रणाली लागू गर्नुपर्ने नेपाल बारको माग छ। न्यायपालिका व्यक्तिको इच्छा वा तजबिजले नभई स्पष्ट नियम, निष्पक्ष पद्धति र संस्थागत मर्यादाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै बारले आफ्नो संस्थागत सरोकारलाई बेवास्ता गरिए आवश्यक परे सशक्त संस्थागत प्रतिरोधमा उत्रने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार