काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान प्रक्रिया दिउँसो १ बजेसम्मका लागि सारिएको छ। उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक हुन ढिलाइ भएको र मतपत्र छपाइमा समय लागेकाले मतदानको समय सारिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
प्रवक्ता चालिसेका अनुसार उम्मेदवारहरूको अन्तिम सूची आउन समय लागेकाले त्यसलाई मतपत्रमा छाप्न पनि थप समय लागेको हो। केन्द्रीय निर्वाचन समितिले गएराति १० बजे मात्रै उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको थियो। २९७ सदस्यीय केन्द्रीय समितिका लागि दोब्बरभन्दा बढी उम्मेदवार रहेकाले मतपत्र छपाइ तथा व्यवस्थापनमा थप समय लागेको जनाइएको छ।