काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार धुम्बराहीको स्मार्ट होटलमा आयोजित सांसद सम्मान तथा बधाई कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्न आग्रह गरे। खड्काले सांसदहरूका साथमा आफू र वरिष्ठ नेताहरू सधैं रहने भन्दै उनीहरूलाई संसद्मा प्रभावकारी र अनुकरणीय भूमिका निर्वाह गर्न प्रेरित गरे।
उनले सांसदहरूलाई कानुन निर्माण, नेपाली जनताको हक अधिकार र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणमा प्रखर रूपमा प्रस्तुत हुन आग्रह गर्दै भने कि संसद बाहिरका नेता सधैं सहयोग, सुझाव र मार्गदर्शनका लागि उपलब्ध रहन्छन्। साथै, संविधानका मूलभूत विषयमा सम्झौता नगरी संशोधनको बहसमा सक्रिय रहन सांसदहरूलाई उनले प्रोत्साहित गरे।