काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका बाबु थापा पक्राउ परेका छन्। सर्लाहीको बागमती नगरपालिका–१ घर भएका ४८ वर्षीय थापालाई प्रहरीले बुधबार राति आफ्नै घरबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार थापा जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए। फरार भएपछि विभिन्न स्थानमा लुकेर बसेका उनी गएराति घर पुगेका थिए। इलाका प्रहरी कार्यालय हरिवन र कर्मैयाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिने क्रममा दुई थान पेस्तोलसमेत बरामद गरेको छ। थापाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा म्याद लिएर अनुसन्धान गरिने डीएसपी राईले बताएका छन्। न्यायाधीश बमको २०६९ जेठ १८ गते हत्या भएको थियो भने उक्त घटनामा संलग्न रहेको कसुरमा थापालाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो। उनी यसअघि २०७१ सालमा पक्राउ परेका थिए।