काठमाडौं — जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बल प्रयोग गरी दमन गरेको आरोप छ। सो आन्दोलनको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो। आयोगकै सिफारिसका आधारमा यसअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।
जाँचबुझ आयोगसमक्ष दिएको बयानमा रिजालले आफूले सुरक्षाकर्मीलाई घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउन मौखिक आदेश दिएको स्वीकार गरेका छन्। तर, उनले सिधै गोली चलाउने आदेश भने नदिएको दाबी गरेका छन्।
रिजाल काठमाडौंको सीडीओ बन्नुअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख थिए। सो अवधिमा कर्मचारी सरुवा–पोस्टिङमा अनियमितता गरेको आरोप पनि उनीमाथि लागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत रिजालमाथि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गरिरहेको जनाएको छ। विशेष अदालतमा पेश गरिएको विवरणमा गृह मन्त्रालयका केही उच्च अधिकारी तथा अन्य व्यक्तिहरूसँगको मिलेमतो र अस्वाभाविक गतिविधिबारे पनि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ।
यस घटनाले जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दामा उच्च तहका अधिकारीहरूलाई समेत कारबाहीको दायरामा ल्याएको संकेत गरेको छ।