काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले मधेश क्षेत्रका प्रमुख राजनीतिक दलहरूसँग संवाद र सहकार्य थालेका छन्। मंगलबार उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहसँग छुट्टाछुट्टै भेटघाट गरेका हुन्।
ठाकुर रास्वपा सभापति लामिछानेको निवास बूढानीलकण्ठ पुगेका थिए। भेटमा वर्तमान राजनीति, मधेशको विकास, र प्राथमिकता दिनुपर्ने योजनाबारे छलफल भएको रास्वपा सचिवालयले जनाएको छ। दुबै पक्षले समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्नेमा सहमति जनाएका छन्।
आजपा अध्यक्ष साहसँगको भेटमा पनि लामिछानेले मधेशलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साहका अनुसार करिब २० मिनेटको भेटमा मधेश र कर्णालीलाई प्राथमिकताका साथ विकास कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो। साथै गत भदौ २३–२४ गते भएको आन्दोलन र आगामी राजनीतिक रणनीतिबारे पनि कुराकानी भएको उनले जानकारी दिएका छन्।
लामिछानेले भेटमा सरकार सबैको हो र सबैको चाहना अनुसार विकास र समृद्धिका लागि काम गर्नुपर्ने बताए। जवाफमा साहले भने, “सरकार राम्रो काम गरे समर्थन रहन्छ, तर नराम्रो हुने खण्डमा सचेत गराउनेछौं।” यसरी रास्वपा मार्फत जनताले दलतन्त्रको विरोधको सन्देश लिएर आएको पनि भेटमा स्पष्ट भएको छ।