• २०८२ चैत्र १७ गते मङ्गलवार
  • Preeti To Unicode

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको स्वागत : १०० बुँदे शासकीय सुधार कार्यसूची सकारात्मक कदम

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको स्वागत : १०० बुँदे शासकीय सुधार कार्यसूची सकारात्मक कदम

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले सार्वजनिक गरेको शासकीय सुधारका लागि १०० वटा कार्यसूचीलाई भ्रष्टाचार नियन्त्रण र सुशासनतर्फको प्रशंसनीय सुरुवात भएको बताएको छ। अध्यक्ष मदनकृष्ण शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरे अनुसार, नवगठित सरकारले पारित गरेको कार्यसूची जनादेशको भावना र सुशासनको मागअनुरूप हुनुका साथै धेरै वर्षदेखि उठाइँदै आएका सुशासनका विषयहरू अधिकांश रूपमा समावेश छन्।

पहिलो बैठकमा नै समय सीमा सहितको बृहत कार्यसूची पारित गर्नुले बालेन शाह नेतृत्वमा रहेको सरकारले जनताको हित र सुशासनप्रतिको प्रतिबद्धता देखाएको छ। विज्ञप्तिमा भनिएको छ, “बृहत कार्यसूचीमा उल्लेखित कार्यहरुको कार्यान्वयन सुरु भइसकेको छ र तोकिएको समय सीमाभित्र सबै कार्यहरू सम्पन्न हुने विश्वास लिएका छौं। सुशासन प्रवर्द्धनमा आफ्नो अनुभव र विज्ञता उपलब्ध गराउन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल प्रतिबद्ध छ।”

प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार