काठमाडौं। सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको प्रमुख कानुनी सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो।
महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकार हुनुका साथै फौजदारी मुद्दामा अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्छन्। साथै, सरकार पक्षका सबै मुद्दामा बहस तथा पैरवीको समन्वय र नेतृत्व गर्ने जिम्मेवारी पनि उनकै हुन्छ।कँडेल यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारका रूपमा संलग्न रहेका थिए।
उनी पत्रकारिता क्षेत्रमा पनि सक्रिय रहँदै धौलागिरी क्षेत्र (बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ) अन्तर्गत पत्रकार महासंघको शाखा सभापतिका रूपमा वि.सं. २०५८ देखि २०६० सम्म जिम्मेवारी सम्हालिसकेका छन्।