नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत रहेका साँघुरा पुलहरूलाई चार लेनमा विस्तार गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ। सडक चार लेनमा विस्तार भइसके पनि पुलहरू दुई लेनका मात्र भएकाले सवारी आवागमनमा समस्या देखिँदै आएको थियो। अब सोही समस्यालाई समाधान गर्न पुलहरू पनि चार लेनअनुसार निर्माण गर्न थालिएको हो।
बाँकेको खजुरा र जानकी गाउँपालिकाको सीमास्थित किरण नाला तथा बर्दियाको बढैयाताल गाउँपालिकास्थित चपला नालामा नयाँ पुल निर्माण सुरु भइसकेको छ। किरण नालामा करिब ४ करोड ५० लाख रुपैयाँ लागतमा पुल निर्माण भइरहेको छ र हाल जग निर्माणको काम तीव्र गतिमा चलिरहेको छ। पुरानो दुई लेनको पुललाई यथावत् राख्दै थप दुई लेनको नयाँ पुल निर्माण गरिँदैछ, जसलाई आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यसैबीच, बाँके जिल्ला अन्तर्गत खजुरा गाउँपालिका–३ को पेडारी नालामा चार लेनको पुल निर्माण समयअगावै सम्पन्न भइसकेको छ। पुल विस्तारसँगै बर्दिया जिल्ला र बाँके क्षेत्रको सवारी आवागमन थप सहज, सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।