• २०८३ कार्तिक १३ गते बिहिवार
  • Preeti To Unicode

चक्रवात ‘अर्नब’ को सम्भावित प्रभावलाई ध्यानमा राख्दै हवाई सुरक्षा सतर्कता अपनाउन प्राधिकरणको आग्रह

चक्रवात ‘अर्नब’ को सम्भावित प्रभावलाई ध्यानमा राख्दै हवाई सुरक्षा सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । भारतको आन्ध्र प्रदेश तथा विशाखापट्नम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई ध्यानमा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले २८ अक्टोबर (११ कात्तिक) मा सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा सम्बन्धित सरोकारवालालाई आवश्यक तयारी र सतर्कता अपनाउन निर्देशन दिएको हो।

प्राधिकरणका अनुसार उक्त मौसमी प्रणालीका कारण नेपालका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा, चट्याङसहितको हुरीबतास, तीव्र हावाहुरी तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ। यसको प्रभाव विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पर्न सक्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत असर देखिन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार (१२ कात्तिक) देखि शनिबार (१४ कात्तिक) सम्म भारी वर्षा, तीव्र हावाहुरी र कम भिजिबिलिटीका कारण हवाई उडान तथा अवतरण, विमानस्थल सञ्चालन र धावनमार्गको अवस्थासमेत प्रभावित हुन सक्ने भएकाले प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको हो।

प्राधिकरणले हवाई ट्राफिक व्यवस्थापन गर्ने निकायलाई प्रतिकूल मौसममा उडान सञ्चालनको उचित योजना बनाउन र आवश्यकताअनुसार अन्य हवाई सेवा इकाइसँग समन्वय गर्न निर्देशन दिएको छ। मौसमका कारण निर्धारित सञ्चालन सीमाभन्दा अवस्था खराब भएमा उडान मार्ग परिवर्तन गर्ने, जहाजलाई आकाशमै होल्डिङ गराउने तथा अन्य आवश्यक व्यवस्थापन गर्न पनि भनिएको छ।

त्यसैगरी, भारी वर्षा र प्रतिकूल मौसमका कारण उडानमा असर पर्न सक्ने भएकाले राडार नियन्त्रकलाई जहाजबीच आवश्यक दूरी कायम गर्न निर्देशन दिइएको छ। हावाको गति तथा दिशामा अचानक परिवर्तन हुने अवस्था (विन्ड सियर), तीव्र वायुमण्डलीय अस्थिरता र चट्याङयुक्त हुरीबताससम्बन्धी जानकारी उडान भर्ने तथा अवतरण गर्ने जहाजलाई तत्काल उपलब्ध गराउन पनि परिपत्रमा उल्लेख गरिएको छ।

वर्षाका कारण धावनमार्गमा पानी जम्ने, सतह चिप्लिने तथा जहाजको ब्रेकिङ क्षमतामा असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले धावनमार्गको नियमित निरीक्षण गर्न निर्देशन दिएको छ। विमानस्थल सञ्चालन, सिभिल इन्जिनियरिङ तथा एयरसाइड विभागबीच निरन्तर समन्वय कायम गर्न, तीव्र हावाले उडाएर ल्याएका वस्तु तथा फोहोर हटाउन र विमानस्थलका बत्ती तथा अन्य अत्यावश्यक प्रणाली नियमित सञ्चालनमा रहेको सुनिश्चित गर्न पनि भनिएको छ।

कुनै उपकरण वा प्रणाली सञ्चालनमा समस्या आएमा तत्काल आवश्यक सूचना जारी गर्नुपर्ने प्राधिकरणले जनाएको छ। वायुसेवा सञ्चालक तथा उडान चालक दललाई उडानअघि मौसमको विस्तृत मूल्यांकन गर्न, सम्भावित ढिलाइ, होल्डिङ तथा वैकल्पिक विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्न र पर्याप्त इन्धनको व्यवस्था गर्न आग्रह गरिएको छ। साथै, निर्धारित हवाई सुरक्षा प्रक्रिया अनिवार्य रूपमा पालना गर्न पनि निर्देशन दिइएको छ।

प्राधिकरणले हवाई मार्ग सेवा तथा हवाई ट्राफिक व्यवस्थापनका अत्यावश्यक पूर्वाधार, वैकल्पिक विद्युत् आपूर्ति र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सम्भावित गम्भीर जोखिम, सञ्चालनमा अवरोध वा सुरक्षा घटना देखिएमा निर्धारित माध्यमबाट तत्काल जानकारी गराउनसमेत परिपत्रमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार