मकवानपुरका आदिवासी समुदाय : संरक्षण नीति, जलवायु परिवर्तन र जीविकोपार्जन संकटको दोहोरो–तेहोरो दबाब

मकवानपुरका आदिवासी समुदाय : संरक्षण नीति, जलवायु परिवर्तन र जीविकोपार्जन संकटको दोहोरो–तेहोरो दबाब

हेटौँडा । घर नजिकैबाट खोला बग्छ, तर मकवानपुरका बोटे समुदायले जाल हान्न पाउँदैनन् । घरकै छेउमा अम्रेसो भए पनि वनकरियाले आफ्नो परम्परागत कुचो बनाउने र बेच्ने पेसा गर्न सक्दैनन् । चेपाङ समुदायमा दाइजोमा दिइने चिउरीको रूख फुल्छ, तर पछिल्ला वर्षहरूमा फल लाग्न छाडेको छ । यी सबै समस्या मकवानपुरका आदिवासी जनजाति, सीमान्तकृत र लोपोन्मुख समुदायको साझा पीडा हो, जसको जीवन जल, जंगल र जमिनसँग गहिरो रूपमा जोडिएको छ ।

समुदायका अगुवाहरूका अनुसार समस्या त स्पष्ट छ, तर यसको कारणबारे सामान्य सदस्यहरू अनविज्ञ छन् । नदी, वन र पहाडसँग पुस्तौँदेखि सहअस्तित्वमा बाँचेका यी समुदाय अहिले विकासका बदलिँदा स्वरूप, संरक्षण नीतिका कठोर प्रावधान र जलवायु परिवर्तनको असरले एकसाथ दबाबमा परेका छन् । उनीहरूको परम्परागत ज्ञान, जीवनपद्धति, सांस्कृतिक अभ्यास र जीविकोपार्जनका आधारहरू क्रमशः कमजोर बन्दै गएको देखिन्छ ।

तराई, चुरे र महाभारत शृङ्खलाको संगमस्थल मकवानपुर जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण जिल्ला हो । यहाँ चेपाङ, बोटे, तामाङ, वनकरियालगायत समुदायले आफ्नै मौलिक जीवनशैली र प्रकृतिसँग गाँसिएको जीवनपद्धति विकास गरेका छन् । नदी किनारमा बसोबास गर्ने बोटे समुदायको जीवन नदीमै निर्भर थियो भने वन क्षेत्रमा बस्ने चेपाङ र वनकरियाको जीवन वन, जमिन र मौसमी चक्रसँग जोडिएको छ ।

बोटे समुदायको परम्परागत पेसा माछा मार्ने, डुङ्गा चलाउने र नदी किनारका स्रोतको उपयोग गर्ने थियो, जुन केवल जीविकोपार्जन होइन, उनीहरूको संस्कृति र पहिचानको आधार पनि थियो । कान्छीमाया बोटेका अनुसार पहिले नदीबाटै जीवन चल्थ्यो, तर अहिले खोला अगाडि भए पनि त्यसको उपयोग गर्न नपाइने अवस्था छ । संरक्षण क्षेत्र र नदीजन्य स्रोतमा कडाइ भएपछि उनीहरू मजदुरी, इँटाभट्टा र अस्थायी रोजगारीतर्फ धकेलिन बाध्य भएको उनको भनाइ छ ।

यस्तै, मकवानपुरको पश्चिमी भेगमा बसोबास गर्ने चेपाङ समुदायको जीवन खोरिया खेती, कन्दमूल संकलन, चिउरी, मौरीपालन र वनजन्य उत्पादनमा आधारित छ । संविधानसभा सदस्य गोविन्दराम चेपाङका अनुसार चेपाङ समाजमा छोरीको विवाहमा चिउरीको रूख दाइजो दिने परम्परा अझै पनि कतिपय ठाउँमा कायम छ । तर पछिल्ला वर्षहरूमा चिउरीमा फूल लागे पनि फल नलाग्ने, उत्पादन घट्ने र जीवनचक्रमै परिवर्तन देखिन थालेको स्थानीयको अनुभव छ ।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार