चितवन । चितवनको भरतपुर अस्पताललाई हरियाली, स्वच्छ र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले अस्पताल प्रशासनले विभिन्न सुधारका काम अघि बढाएको छ। बिरामीको उच्च चाप व्यवस्थापनसँगै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सेवाग्राहीसँगको व्यवहार सुधार गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार बिरामी तथा आफन्तसँग सम्मानजनक, शिष्ट र सहयोगी व्यवहार गर्न कर्मचारीलाई निर्देशन दिइएको छ।
अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमका प्रमुख लिलाधर पौडेलको संयोजकत्वमा ‘हस्पिटल ब्युटिफिकेसन कमिटी’ गठन गरी अस्पतालको वातावरण सुधारको काम अघि बढाएको छ। कमिटीले सरसफाइ, हरियाली विस्तार, उद्यानको संरक्षण, बिरुवा रोप्ने, गोडमेल तथा छाँटकाँट गर्ने र भौतिक संरचनामा रङरोगन गर्ने काम गरिरहेको छ। अस्पताल परिसरमा रहेका बाल उद्यानसहित छ वटा साना उद्यानलाई थप व्यवस्थित बनाउने काम पनि भइरहेको छ।
अस्पतालमा प्रत्येक १५ दिनमा बृहत् सरसफाइ गर्ने तथा शौचालयको सरसफाइको नियमित अनुगमन गरी त्यसको अभिलेख राख्ने व्यवस्था सुरु गरिएको छ। साथै, बिरामी तथा आफन्तलाई आफू जानुपर्ने भवन र सेवास्थल सहज रूपमा पहिचान गर्न सक्ने गरी रङ तथा सूचना संकेतको व्यवस्था मिलाइँदैछ। अस्पतालको अगाडिको पुरानो भवन भत्काएर त्यहाँ पानीको फोहोरा, ढुङ्गेधारा र बगैँचा निर्माण गर्ने तयारीसमेत गरिएको छ।
अस्पताल प्रशासनका अनुसार उपचारसँगै बिरामीले पाउने सम्मान, स्वच्छ वातावरण र सहज सेवा पनि स्वास्थ्य सेवाको गुणस्तरका महत्वपूर्ण पक्ष हुन्। विभिन्न जिल्लाबाट बिरामी आउने भरतपुर अस्पतालमा एकै दिन ३ हजार ८ सय जनासम्मले बहिरङ्ग सेवा लिएको तथ्याङ्क छ। ठूलो संख्यामा सेवाग्राही आउने अस्पताललाई थप व्यवस्थित, सुन्दर र सेवामैत्री बनाउने यो अभियानले अस्पतालप्रतिको विश्वास र सेवा संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।