चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा पालिएका पशु चौपायामा रेबिज संक्रमण देखिएको छ। रत्ननगर–९ र १० मा पालिएका जर्सी गाईको नमुना परीक्षण गर्दा रेबिज संक्रमण पुष्टि भएको पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिए। उनका अनुसार रेबिज लागेका गाईभैँसीमा अत्यधिक र्याल काढ्ने, टाउको भित्तामा ठोक्ने, मानिस तथा अन्य जनावरलाई टोक्न खोज्ने, पानी र घाँस खान नखोज्ने, दूध घट्ने तथा अन्ततः मर्ने जस्ता लक्षण देखिने गरेका छन्।
संक्रमण पुष्टि भएपछि रत्ननगरका प्रभावित क्षेत्रमा पशु चौपायामा रेबिजविरुद्धको खोप लगाउन सुरु गरिएको छ। रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार वडा नं. ९, १० र १६ मा रेबिज संक्रमण देखिएको छ। चालु आर्थिक वर्षमा चारवटा नमुना संकलन गरिएकोमा दुईवटामा संक्रमण पुष्टि भइसकेको र थप दुईवटा नमुना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौं पठाउने तयारी भइरहेको छ।
राजभण्डारीका अनुसार रेबिजको लक्षण देखिएको करिब नौदेखि १० दिनभित्र पशु मर्ने गरेका छन्। न्याउरी मुसा तथा स्यालको टोकाइबाट पशुमा रेबिज सरेको हुनसक्ने अनुमान गरिएको छ। संक्रमण देखिएका क्षेत्रमा पशु तथा मानिसलाई रेबिजविरुद्धको खोप दिन थालिएको छ भने उच्च सतर्कता अपनाइएको छ।
कुकुर तथा जंगली जनावरको टोकाइबाट सर्ने रेबिजबाट जोगिन जंगली जनावरको आसपासमा रहेका कृषकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। जनावरले टोके वा चिथोरेमा घाउलाई तत्काल कम्तीमा १५ मिनेट साबुन र बगिरहेको सफा पानीले राम्ररी धोएर चिकित्सकको सल्लाहअनुसार रेबिजविरुद्धको खोप लगाउनुपर्ने चिकित्सकहरूले बताएका छन्। साथै, घरपालुवा कुकुर तथा बिरालोलाई प्रत्येक वर्ष रेबिजविरुद्धको खोप लगाउन तथा शंकास्पद व्यवहार देखाउने पशुलाई मानिस र अन्य जनावरबाट अलग्गै सुरक्षित स्थानमा राख्न सुझाव दिइएको छ।