घोराहीको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दो

घोराहीको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दो

दाङ । दसैँ, तिहार तथा छठपर्व नजिकिएसँगै दाङको घोराहीमा सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दै गएको छ। चाडपर्वका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्ताको सङ्ख्या बढेसँगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीको सुपथ मूल्य पसलमा विशेषगरी नुन र चिनी खरिद गर्नेको भीड बढ्न थालेको हो। बजारमा भन्दा सस्तो मूल्यमा चिनी र नुन पाइने भएकाले आफू खरिद गर्न आएको घोराही–१५ की निर्मला मगरले बताइन्। सरकारले चिनी र नुनसँगै अन्य दैनिक उपभोग्य वस्तु पनि सहुलियत मूल्यमा बिक्री गर्नुपर्ने उनको भनाइ छ। घोराही–७ का निर्मल केसीले पनि अन्यत्रको तुलनामा केही सस्तोमा नुन र चिनी खरिद गर्न पाउँदा राहत मिलेको बताए।

साल्ट ट्रेडिङ घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताका अनुसार पछिल्ला दिनमा सुपथ मूल्य पसलमा उपभोक्ताको सङ्ख्या निरन्तर बढिरहेको छ। सुरुका दिनमा कम उपभोक्ता आए पनि अहिले दैनिक ३०० भन्दा बढी उपभोक्ता आउने गरेको उनले जानकारी दिए। सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो रु. १०० र नुन प्रतिकिलो रु. २४ मा बिक्री भइरहेको छ। बजारमा भने चिनी प्रतिकिलो करिब रु. १४० र नुन रु. ३० मा बिक्री भइरहेको उपभोक्ताहरू बताउँछन्। बजार मूल्यको तुलनामा सुपथ मूल्य पसलबाट चिनी र नुन खरिद गर्दा उपभोक्ताले केही रकम बचत गर्न सक्नेछन्। साल्ट ट्रेडिङले एक जना उपभोक्ताले एकपटकमा अधिकतम छ किलो चिनी र छ किलो नुन खरिद गर्न पाउने व्यवस्था गरेको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि कात्तिक ३१ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गरेको हो। विगतका वर्षमा चाडपर्वका समयमा मुख्य रूपमा नुन बिक्री गर्दै आएको साल्ट ट्रेडिङले यस वर्ष भने नुनसँगै चिनीसमेत सहुलियत मूल्यमा बिक्री गर्न थालेको जनाएको छ। चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने अवस्थालाई मध्यनजर गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गरिएको प्रमुख गुप्ताले बताए। एउटै व्यक्तिले ठूलो परिमाणमा सामान खरिद गरी अन्य उपभोक्तालाई अभाव हुन नदिन खरिदको सीमा तोकिएको र यसको दुरुपयोग हुन नदिन कार्यालय सचेत रहेको उनले बताए। चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले सहुलियत मूल्यमा वस्तु उपलब्ध गराउने सरकारी प्रयासले उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार