विपद् व्यवस्थापनमा आरोप–प्रत्यारोपभन्दा माथि उठेर सहकार्य गर्न रास्वपाको आग्रह

विपद् व्यवस्थापनमा आरोप–प्रत्यारोपभन्दा माथि उठेर सहकार्य गर्न रास्वपाको आग्रह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद् व्यवस्थापनमा आरोप–प्रत्यारोपभन्दा माथि उठेर रचनात्मक सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विपद्बाट प्रभावित नागरिकको घाउमा मलम लगाउन तथा पुनर्निर्माणको कामलाई तीव्रता दिन तीनै तहका सरकार, प्रतिपक्षी दल र नागरिक समाजको एकीकृत प्रयास आवश्यक रहेको बताए।पराजुलीले पछिल्लो समय जलवायु परिवर्तनका कारण बाढी, पहिरो र डुबानजस्ता विपद्ले सिर्जना गरेको त्रासदीपूर्ण अवस्थाको समीक्षा गर्दै यस्ता घटनालाई केवल मौसमी घटनाका रूपमा मात्र लिन नहुने धारणा राखे। हिमालय क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै यसको संरक्षणलाई साझा अन्तर्राष्ट्रिय जिम्मेवारीका रूपमा स्थापित गर्न नेपालले निरन्तर पहल गर्नुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घीय महासभाको सम्बोधनले जलवायु न्यायका पक्षमा नेपालको अडानलाई विश्वमञ्चमा बलियो बनाएको उल्लेख गर्दै पराजुलीले त्यसलाई अब ठोस अन्तर्राष्ट्रिय साझेदारी र प्रविधि हस्तान्तरणमा रूपान्तरण गर्नुपर्ने बताए। संसदीय विशेष समितिको जिम्मेवारीसमेत सम्हालिरहेका उनले विपद्का कारण र प्रभावबारे वैज्ञानिक अध्ययन गरी पूर्वाग्रहरहित र परिणाममुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।सुशासनका विषयमा रास्वपाको अडान स्पष्ट रहेको बताउँदै पराजुलीले विगतमा दलीय हस्तक्षेप र भागबण्डाका कारण कमजोर बनेको प्रशासनिक प्रणालीलाई विधि र निष्पक्षताको बाटोमा ल्याउन केही समय लाग्ने बताए। सरकारले कर्मचारी सरुवामा डिजिटल प्रणाली, अनलाइन सेवा तथा सार्वजनिक जग्गा संरक्षणजस्ता क्षेत्रमा अघि बढाएका कदमलाई उनले सुशासनको सुरुवातका रूपमा उल्लेख गरे।भ्रष्टाचार तथा घुसखोरी अन्त्यका लागि नागरिकको सहयोग अपरिहार्य रहेको बताउँदै पराजुलीले चाडपर्व नजिकिँदै गर्दा विपद्मा परेका नागरिकको दुःखमा साथ दिन सम्पूर्ण नेपालीलाई आग्रह गरे।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार