काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले पार्टीभित्र कुनै किसिमको अन्तरविरोध नरहेको बताएका छन् । बिहीबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले रास्वपाका सबै नेता तथा कार्यकर्ता एकीकृत रहेको दाबी गरे । उनले आफूहरू सत्तापक्षमा रहे पनि संसद्मा जनताका मुद्दा र आवाज निरन्तर उठाउनु जनप्रतिनिधिको मुख्य कर्तव्य भएको बताए । जनताको ठूलो आशा र भरोसा रहेको वर्तमान सरकारलाई असफल हुने कुनै छुट नरहेको उल्लेख गर्दै उनले सरकार पाँच वर्षसम्म चल्ने र सफल हुने विश्वास व्यक्त गरे । देशमा सकारात्मक परिवर्तन ल्याउन सरकारलाई चौतर्फी सहयोग गर्दै पाँच वर्ष नै काम गर्ने उनको भनाइ थियो ।