काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ११ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार दुई महत्त्वपूर्ण सडक खण्डमा आवागमन पूर्ण रूपमा ठप्प भएको छ भने तीन स्थानमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको छ।
बागमती प्रदेशअन्तर्गत रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू बाढीका कारण अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द रहेका छन्। त्यस्तै, गण्डकी प्रदेशको म्याग्दीस्थित रघुगंगा गाउँपालिका–२, बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, धादिङको धुनिबेशी नगरपालिका–९, खत्रीपौवामा पहिरो खसेपछि त्रिभुवन राजपथमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको छ। नवलपरासी (पूर्व) को बौदीकाली गाउँपालिका–३, जन्ती पहिरोस्थित कालीगण्डकी कोरिडोरमा पनि एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। उक्त सडक खण्डमा ठूला सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था छैन। त्यस्तै, बाढीका कारण प्रभावित लमजुङको बेसीसहर हुँदै मनाङको खाङसारसम्म जोड्ने सडक खण्डमा पनि एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको छ। प्रहरीले अवरुद्ध सडक खुलाउने तथा यातायातलाई पूर्ण रूपमा नियमित बनाउने प्रयास जारी रहेको जनाएको छ।