मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकाबाट ११ दिनको अवधिमा ५४३ टन चिनियाँ फलफूल आयात भएको छ । भारी वर्षा र हिमपातपछि बेनी–जोमसोम–कोरला सडक असोज ११ गतेदेखि पूर्ण रूपमा अवरुद्ध हुँदा आयातित फलफूल गन्तव्यसम्म पुर्याउन कठिनाइ भएको छ । कोरलास्थित लोमान्थाङ–४ न्हेचुङको क्वारेन्टाइन कार्यालयका अनुसार उक्त अवधिमा ८७ दशमलव ३०० टन स्याउ, १६ दशमलव १०० टन आँप र आठ दशमलव ३१६ टन ड्रागन फ्रुट नेपाल भित्रिएको छ । सडक अवरुद्ध हुँदा कन्टेनरमा लामो समयसम्म फलफूल थन्किएपछि सड्ने र बिग्रने जोखिम बढेको छ ।
यसैबीच, समयमै गन्तव्यमा पुर्याउन नसकिएपछि मुस्ताङको जोमसोममा करिब आठ टन चिनियाँ ड्रागन फ्रुट स्थानीयलाई वितरण गरिएको छ । कम्पनीका प्रतिनिधि सुवास सुनुवारका अनुसार करिब २४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको ड्रागन फ्रुट कुहिएर नष्ट हुनुभन्दा स्थानीयलाई वितरण गरिएको हो । ड्रागन फ्रुटको मूल्य, कन्टेनर भाडा र भन्सार राजस्वसमेत जोड्दा अनुमानित ३० लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।