• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

सरकार भ्रष्टाचार विरुद्ध राष्ट्रिय रणनीति तथा कार्ययोजना तयारीमा छ : उपप्रधानमन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गरि कार्यान्वयन गर्ने तयारी गरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि कार्यान्वयन गर्ने सम्बन्धी रणनीति तथा कार्ययोजना २०६९ को कार्यान्वयन तयारी भइरहेको बताए ।

उनले दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माणको चरणमा रहेको बताए ।  उनले भने, ‘भ्रष्टाचारलाई सरकारी सार्वजनिक, नीति क्षेत्र र नागरिक समाजसँग सहकार्य र सहयोगमा निवारण गर्ने लगायतका विषयलाई सम्बोधन गर्ने र भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि कार्यान्वयन गर्ने सम्बन्धी रणनीति तथा कार्ययोजना २०६९ को कार्यान्वयनको समिक्षा गरि राज्यको विद्यमान संरचना अनुरुप भ्रष्टाचार रोकथामका लागि तीन तहका सरकारको भूमिकालाई समेत स्पष्ट गर्न सरकारले भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गरि कार्यान्वयन गर्ने तयारी गरिरहेको छ ।’

यस्तै, उनले भ्रष्टाचार विरुद्ध लड्न र सभ्य समाज निर्माण गर्ने कार्यमा सबै जिम्मेवार संयन्त्र, निकाय र प्रदाधिकारीहरुले आफ्नो दायित्वलाई जिम्मेवारीका साथ निर्वाह गर्न प्रतिबद्ध रहनुपर्ने बताए । यसका साथै, भ्रष्टाचारले प्रजातान्त्रिक संस्थाहरुलाई कमजोर पार्ने काम गर्ने भन्दै यस प्रकारका समस्या समाधान गर्नको लागि साझा प्रयासका रुपमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले भ्रष्टाचार विरुद्धको महासन्धि पारित गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि उनको भनाई छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार