काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले अवैध रूपमा कम्बोडियामा बसिरहेका ४६ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता गरेको छ। दूतावासका अनुसार ३० चैत र १ वैशाखमा कम्बोडियाबाट उद्धार गरिएका उनीहरू प्रलोभनमा परेर विभिन्न माध्यमबाट त्यहाँ पुगेका थिए र अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोसम्बन्धी ठगी तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको अवस्थामा फेला परेका थिए। तीमध्ये धेरैजना बिनाभिसा वा भिसा अवधि सकिएपछि पनि बसिरहेका थिए।
दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपालीलाई पनि उद्धार गर्ने पहल जारी रहेको जनाएको छ। साथै, त्यहाँ नेपाली नागरिकहरूलाई अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइने र भिसा नियम उल्लंघन गरी बस्ने समस्या बढ्दो क्रममा रहेको जानकारी दिएको छ। कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा त्यहाँ जाने नेपालीको संख्या उल्लेख्य रूपमा बढेको छ, जसअनुसार सन् २०२१ मा १०१ जना, २०२२ मा १९७७ जना, २०२३ मा २९४० जना, २०२४ मा ६४०४ जना र २०२५ मा ९६७६ जना नेपाली कम्बोडिया पुगेका छन्।