काठमाडौंमा संघीय संसद् अन्तर्गत संसदीय समितिका सभापति चयन प्रक्रिया तीव्र बनेको छ। नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी लगायत विपक्षी दलहरू सबै समितिमा उम्मेदवारी दिने विषयमा छलफलमा जुटेका छन्। संयुक्त छलफलमा सहभागी एक नेताका अनुसार “उम्मेदवारी दिऔं, जित–हार स्वाभाविक हो” भन्ने धारणा बनेको छ। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा मनोनयन दर्ता हुने र साढे ४ बजे उम्मेदवारहरूको सूची प्रकाशन गरिनेछ। यसअघि दिउँसो १२ बजे विपक्षी दलहरूको संयुक्त बैठक बस्दैछ, जसले उम्मेदवारी दिने/नदिने र कुन समितिमा कसलाई अघि सार्ने भन्ने टुंगो लगाउनेछ। संघीय संसद् अन्तर्गत १६ वटा समितिमध्ये राष्ट्रिय सभातर्फका सभापति चयन भइसकेका छन् भने प्रतिनिधिसभाका १० र दुई संयुक्त समितिका सभापति चयन हुन बाँकी छ। यसक्रममा मोहन आचार्य, भिष्मराज आङदाम्बे, वर्षमान पुन र युवराज दुलाल लगायत नेताहरूले अन्य दलहरूसँग समन्वय तीव्र बनाएका छन्।