• २०८३ असार १९ गते शुक्रवार
  • Preeti To Unicode

कक्षा १२ को परीक्षा मिति सारियो, अब वैशाख २१ गतेदेखि सुरु हुने


काठमाडौं – कक्षा १२ को राष्ट्रिय परीक्षा मिति परिवर्तन भएको छ। अब परीक्षा आगामी वैशाख २१ गतेदेखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। यसअघि उक्त परीक्षा वैशाख ११ गतेदेखि सञ्चालन हुने तालिका तय गरिएको थियो।

परीक्षा सारिनुको प्रमुख कारण शिक्षकहरूको आन्दोलन हो। शिक्षक तथा ट्रेड युनियनहरूले कर्मचारी परिचालन हुन नसक्ने स्थिति स्पष्ट गरेपछि परीक्षा सार्ने निर्णय गरिएको बोर्डले जनाएको छ।

यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्री ओलीले यदि आवश्यक भएमा परीक्षा सार्न सकिने सुझाव दिएका थिए।

परीक्षा मिति यथावत राख्ने भनिए पनि मंगलबार बिहान बसेको बोर्डको बैठकले परिस्थिति विषम भएको भन्दै परीक्षा सार्ने निर्णय गरेको हो।

बोर्डले भोलि (वैशाख १० गते) नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने जानकारी दिएको छ। विद्यार्थीहरूले समयमै जानकारीका लागि बोर्डको वेबसाइट वा विद्यालयहरूमार्फत सूचना लिन आग्रह गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार