• २०८३ कार्तिक १४ गते शुक्रवार
  • Preeti To Unicode

तिहार नजिकिएसँगै गुन्डुका किसानलाई मखमली फूलको माला गाँस्न भ्याइनभ्याइ

तिहार नजिकिएसँगै गुन्डुका किसानलाई मखमली फूलको माला गाँस्न भ्याइनभ्याइ

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा भक्तपुरको गुन्डु क्षेत्रका किसानलाई मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ भएको छ । यस क्षेत्रका अधिकांश किसानले तिहारलाई लक्षित गरी व्यावसायिक रूपमा मखमली फूल खेती गर्दै आएका छन् । खेतबारीमा फुलेका फूल टिप्ने र परिवारका सदस्य मिलेर माला गाँस्ने काममा उनीहरू व्यस्त छन् । घरको आँगनमा बसेर फूल उन्ने र माला तयार गर्ने दृश्यले गाउँमा तिहारको रौनक थपिएको छ ।

किसानले उत्पादन गरेका मखमली फूल तथा मालाको बिक्रीका लागि बजारको समस्या छैन । काठमाडौंका व्यापारीहरू किसानका घरमै पुगेर फूल तथा मालाको अर्डर गर्ने गरेका छन् । व्यापारीको मागअनुसार किसानले माला तयार पारिरहेका छन् । किसानका अनुसार एउटा मखमली फूलको मालाको मूल्य २५ रुपैयाँसम्म पर्ने गरेको छ । तिहार नजिकिँदै जाँदा फूल तथा मालाको मागसँगै मूल्यसमेत बढ्ने उनीहरूको अपेक्षा छ ।

मखमली फूल तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने विशेष फूल हो । कहिल्यै नओइलाउने विश्वासका कारण मखमली फूललाई प्रेम, आत्मीयता र दीर्घ सम्बन्धको प्रतीकका रूपमा लिने गरिन्छ । यही सांस्कृतिक र धार्मिक महत्त्वका कारण तिहारमा मखमली फूलको विशेष माग रहने गरेको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार