काठमाडौं– ‘सगरमाथा संवाद’ कार्यक्रममा सहभागी विदेशी विशिष्ट पाहुनालाई वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा माउन्टेन फ्लाइटमार्फत हिमशृङ्खलाको मनमोहक दृश्यावलोकन गराइएको छ। यो उडान परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको समन्वयमा आयोजना गरिएको थियो र करिब एक घण्टासम्म चल्यो।
उडानमार्फत सगरमाथा, मकालु, नुप्से, गौरीशङ्कर लगायतका प्रमुख हिमालहरूको रमणीय दृश्यावलोकन गरियो। माउन्टेन फ्लाइटको उद्देश्य साहसिक पर्यटन प्रवर्द्धन गर्नुका साथै जलवायु परिवर्तनसम्बन्धी सचेतना फैलाउनु रहेको आयोजकहरूले बताएका छन्।
‘सगरमाथा संवाद’ नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा आयोजना गरिएको महत्वपूर्ण कार्यक्रम हो। यसमा ३५० भन्दा बढी स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिहरू सहभागी भएका छन्।
नेपालका निजी वायुसेवा कम्पनीहरूले पर्वतीय उडान सेवा सञ्चालन गर्दै आएका छन्। उक्त उडान बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको थियो।