सेवा होइन, कथा बनाउनेहरू चर्चामा छन् : विष्णु रिमालको सामाजिक सञ्जालप्रति टिप्पणी


काठमाडौं – प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले समाजमा वास्तविक सेवा गर्नेभन्दा पनि कथा बनाउनेहरू चर्चामा रहने प्रवृत्ति बढ्दै गएको बताएका छन्।

रिमालले सामाजिक सञ्जालमार्फत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यप्रति गलत न्यारेटिभ फैलाउने गिरोह सक्रिय भएको आरोप लगाएका छन्। उनले भने, “बलेको बत्तिमुनि बसेर ‘बिजुली गयो’ भन्ने कथा बनाईन्छ,” जसले सत्यता ओझेलमा पार्ने काम गरिरहेको छ।

हितेन्द्रदेव शाक्यलाई काबिल र इमान्दार अधिकारीको रूपमा प्रशंसा गर्दै रिमालले उनको प्रयास र इमान्दारिताको सम्मान गर्नुपर्ने उल्लेख गरेका छन्। साथै, सकारात्मक कामलाई निरन्तरता दिन हौसला पनि दिएका छन्।

सामाजिक सञ्जालमा कामको मूल्यांकनभन्दा नकारात्मक कथा र भ्रम फैलाउने प्रवृत्ति बढ्दो देखिएको भन्दै रिमालले चिन्ता व्यक्त गरेका छन्। उनले भने, “बिजुली कसरी आयो भन्ने बुझ्न नचाहने तर कसैले ल्याइदिएको देवता मान्ने प्रवृत्ति पनि बढ्दै गएको छ।”

रिमालले हितेन्द्रदेव शाक्यलाई सजग रहन र जनताप्रति उत्तरदायित्वपूर्ण कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार