काठमाडौँ – जुम्ला गुठिचौर गाउँपालिका–२ झुलेनीमा गएराति परेको चट्याङले भेडापालनमा ठूलो क्षति पुर्याएको छ। घटनामा २१ वटा भेडाबाख्रा मरेका छन्। पीडित किसान हिर बहादुर ऐडिकाले १६ र धनकृष्ण रोकायकाले ६ भेडाबाख्रा गुमाएका छन्।
हिर बहादुर ऐडिकासँग कुल ५० र धनकृष्ण रोकायकासँग ३० भेडाबाख्रा थिए। जिल्लामा करिब ३५०० भेडाबाख्रा छन् र भेडापालन किसानहरूको मुख्य आम्दानीको स्रोत हो। एक भेडाबाख्राको मूल्य १० हजारदेखि २५ हजार रुपैयाँसम्म रहेको हुँदा यस घटनाले किसानहरूलाई ठूलो आर्थिक घाटा पुर्याएको छ।
स्थानीय प्रशासनले पीडित किसानलाई सहयोग गर्ने तयारी गरेको छ भने विपद् शाखाले राहत तथा क्षतिपूर्तिको व्यवस्था मिलाउन छलफल थालेको छ।
किसानहरूले व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट ठूलो क्षति भैरहेको समस्या औंल्याउँदै स्थानीय सरकारसँग राहत र दीर्घकालीन सहयोगको माग गरेका छन्।