• २०८३ असोज १६ गते शुक्रवार
  • Preeti To Unicode

डान्सर स्वस्थानीसँगको कुराकानी: नृत्यप्रतिको समाजको दृष्टिकोण र भविष्यका सपना


काठमाडौं-व्यस्त डान्सर स्वस्थानी तामाङले नृत्यलाई आफ्नो जीवनको अभिन्न अंग बनाएकी छन्। उनी ४ वटा विद्यालयमा नृत्य शिक्षकको रूपमा कार्यरत छन् भने मण्डला थियटरमा अभिनय प्रशिक्षण पनि लिइरहेकी छन्।

सानैदेखि नृत्यप्रति गहिरो रुचि भएकी स्वस्थानीले विद्यार्थी जीवनमै विभिन्न नृत्य प्रतियोगितामा पुरस्कार जितेकी थिइन्। उनी भन्छिन्, “नृत्य गर्दा पाउने आनन्द अन्य कुनै कामले दिन सक्दैन।”

उनका अनुसार, नृत्य एक गाह्रो विधा हो किनभने पूरै शरीर चलाउनुपर्छ, तर यो सबैको मन जित्ने कला पनि हो। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाम कमाउने माध्यम भएको बताए।

स्वस्थानीले देश तथा विदेशमा सांगीतिक कार्यक्रमहरूमा नृत्यलाई प्राथमिकता दिइँदै आएको र कलाकारलाई राम्रो रकममा बोलाउने चलन बढेको उल्लेख गरिन्। उनी विशेष गरी बेली, आधुनिक र सांस्कृतिक नृत्यमा काम गरिसकेकी छन् र सांस्कृतिक नृत्यमा बढी आनन्द पाउँछिन्।

उनले १०० भन्दा बढी स्टेज कार्यक्रममा नृत्य गरिसकेकी छन् र एक म्युजिक भिडियोलाई पनि नृत्यमा प्रस्तुत गरिसकेकी छिन्। भविष्यमा फिल्म र म्युजिक भिडियोलाई विस्तार गर्ने योजना छ।

समाजले नृत्यलाई राम्रोसँग हेरे पनि केही विकृति र विसंगतिहरू रहेका छन् जसप्रति समाज सचेत भइरहेको उनले बताइन्। विभिन्न समुदायका सांस्कृतिक नृत्यहरूलाई सम्मान गर्ने चलन बढिरहेको छ।

स्वस्थानीको सपना विश्वमा बहुमुखी डान्सरको रूपमा चिनिने र नेपाली कला संस्कृतिलाई विदेशसम्म पुर्‍याउने रहेको छ। नृत्यमा लाग्न चाहनेहरूलाई उनी अनुशासन र मेहनतको सल्लाह दिन्छिन् र भन्छिन्, “यो सजिलो होइन, तर उत्कृष्ट विधा हो जसले नाम, दाम र इज्जत दिन्छ।”

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार