काठमाडौँ — नवनिर्वाचित सांसदले शपथ लिएको भोलिपल्ट, १३ चैतमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह ले राष्ट्रपतिसमक्ष शपथ लिएर प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन्। रास्वपाका नेताबीच सरकारमा अधिकतम १५ मन्त्रालय रहने समझदारी बनेको छ।
बिहीबारको बैठकमा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी भएर प्रधानमन्त्रीको शपथ र प्रारम्भिक प्राथमिकताबारे परामर्श गरेका हुन्।
प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमत भएपछि सांसदको शपथ १२ चैतमा लिएपछि प्रधानमन्त्रीको शपथ १३ चैतमा लिने निर्णय भएको छ। त्यसै दिन मन्त्रीहरू पनि शपथ लिने तयारी छ। निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरिसकेको छ। यससँगै नयाँ सरकार गठनको बाटो खुलेको छ।