देशव्यापी भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

देशव्यापी भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । आज र भोलि देशभर ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ तथा १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको यस अभियानमा नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई पनि खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ।

बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको हो। जुकाको औषधि भने २०५६ सालदेखि खुवाउन सुरु गरिएको हो।

भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि–विकासमा असर पर्ने, रतन्धो, कुपोषण, दीर्घरोग तथा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने जस्ता समस्या देखिन सक्ने चिकित्सकहरूले बताएका छन्।

पछिल्लो अध्ययनअनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये करिब ११ प्रतिशतमा भिटामिन ‘ए’ को कमी रहेको देखिएको छ।

स्वास्थ्य विशेषज्ञका अनुसार यो समस्या जनस्वास्थ्यका हिसाबले मध्यम स्तरको रहेको छ। अझै पनि धेरै बालबालिकाले भिटामिन ‘ए’ प्राप्त हुने पोषणयुक्त खाद्य पदार्थ कम मात्रामा सेवन गर्ने गरेको उनीहरूको भनाइ छ।

प्रकाशित मिति : २०८३ बैशाख ६ गते आइतवार