काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीबारे भ्रम फैलाइएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशन टारिरहेको र महाधिवेशन गर्न इच्छुक नभएको भन्ने धारणा गलत भएको स्पष्ट पारेका छन्। यस्तो भनाइ “सरासर गलत र भ्रमपूर्ण” भएको उनको दाबी छ।
श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देन समयमै महाधिवेशन गर्ने प्रक्रियामा अघि बढिसकेका छन्। उनले महाधिवेशनका लागि आवश्यक न्यूनतम शर्तमध्ये जिल्ला अधिवेशन सम्पन्न हुनुपर्ने उल्लेख गर्दै झापासहित दुई दर्जनभन्दा बढी जिल्लामा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिएका छन्।
उनले महाधिवेशनको कुरा बढी उठाउने केही नेताहरूको आफ्नै जिल्लामा भने अधिवेशन नै नभएको पनि उल्लेख गरेका छन्।साथै, राप्रपामा कुनै पनि निर्णय अध्यक्षको एकल निर्णयबाट नभई संस्थागत प्रक्रियामार्फत हुने गरेको पनि प्रवक्ता श्रेष्ठले स्पष्ट पारेका छन्।