काठमाडौं -जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरणमा अन्तिम अवसर खुला गरेको छ। सूचनाअनुसार, चैत २० गते अन्तिमपटक वर्गीकरण प्रक्रिया सञ्चालन हुनेछ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार अघिल्ला चरणमा विभिन्न कारणले छुटेका घाइतेहरूलाई लक्षित गरी यो कदम चालिएको हो।
घाइतेहरूले यस दिन दिउँसो १२ बजेसम्म कार्यालयमा उपस्थित हुनुपर्नेछ। आवेदनका लागि आवश्यक कागजातहरूमा उपचार तथा स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्र र जेनजी घाइते परिचयपत्र अनिवार्य रूपमा लिनुपर्नेछ। साथै, सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने उल्लेख छ।
यसअघि, ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ अनुसार गठन भएको समितिले अधिकांश घाइतेहरूको वर्गीकरण सम्पन्न गरिसकेको छ। अघिल्ला चरणहरू मंसिर ५, मंसिर १२ र माघ १८ मा सम्पन्न भएका थिए। यो सूचना ती घाइतेहरूको लागि अन्तिम मौका हो, जसले अघिल्ला चरणहरूमा छुटेका छन्।