काठमाडौँ। चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई ध्यानमा राख्दै सरकारले मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार चक्रवातका कारण नेपालका विभिन्न स्थानमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेकाले जोखिम न्यूनीकरण, जनधनको सुरक्षा र अत्यावश्यक सेवाको निरन्तर सञ्चालनका लागि आवश्यक तयारी गरिएको छ।
भारतको आन्ध्र प्रदेश तथा विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको उक्त चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन गरिएको कार्यालयले जनाएको छ। यद्यपि, चक्रवातको सम्भावित प्रभावबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले विभिन्न स्थानमा माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराइरहेका छन्।
यसैबीच, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घले पदयात्रा तथा पर्वतारोहणमा जानुअघि आधिकारिक मौसम पूर्वानुमानको अद्यावधिक जानकारी लिएर मात्र निर्णय गर्न पर्यटक तथा पर्वतारोही टोलीलाई आग्रह गरेका छन्।
हवाई सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
त्यसैगरी, विभिन्न जिल्ला प्रशासन कार्यालयले आ–आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्याङ्कन गरी आवश्यक पूर्वतयारी तथा सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेका छन्।
सरकारले चक्रवातसम्बन्धी भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न र आधिकारिक निकायबाट जारी गरिएका सूचनामा मात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन सरकारले अपिल गरेको छ।