काठमाडौं महानगरको स्वास्थ्य सहकार्य, प्रसूति गृह र आँखा अस्पतालसँग सम्झौता

काठमाडौं महानगरको स्वास्थ्य सहकार्य, प्रसूति गृह र आँखा अस्पतालसँग सम्झौता

काठमाडौं महानगरपालिका र थापाथलीस्थित परोपकार तथा प्रसूति गृह, नेपाल आँखा अस्पताल तथा नेपाल रेडक्रस सोसाइटीबीच स्वास्थ्य तथा सामुदायिक सहयोग सम्बन्धी कामका लागि सम्झौता भएको छ। बिहीबार सम्पन्न सम्झौतापछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन र सेवा प्रवर्द्धनका लागि विभिन्न संस्थासँग सहकार्य गरिएको जानकारी दिइन्।

डंगोलका अनुसार स्थान अभावका बीच स्वास्थ्य प्रवर्द्धन केन्द्रका कामहरू प्रभावकारी बनाउन प्रसूति गृहसँगको सहकार्य महत्वपूर्ण हुनेछ। उनले काम छिटो र व्यवस्थित रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै जनशक्ति अभाव भए पनि आवश्यकतानुसार थप कर्मचारी परिचालन गरी सेवाहरू प्रभावकारी बनाइने बताए।

त्यसैगरी, विद्यार्थीहरूमा बढ्दो आँखासम्बन्धी समस्या चिन्ताजनक भएकाले नेपाल आँखा अस्पतालसँगको सहकार्यबाट करिब २० हजार विद्यार्थी लाभान्वित हुने डंगोलले उल्लेख गरिन्। यस पहलले स्वास्थ्य सेवा र सामुदायिक स्वास्थ्य प्रवर्द्धन दुवै क्षेत्रमा प्रभावकारी सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार