प्रतिनिधिसभामा राई, लिम्बूको प्रतिनिधित्व ४.३६ प्रतिशत

प्रतिनिधिसभामा राई, लिम्बूको प्रतिनिधित्व ४.३६ प्रतिशत

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ ४ जना यस समुदायबाट निर्वाचित भएका छन्। प्रतिनिधिसभाका २७५ सदस्यमध्ये यो ४.३६ प्रतिशत हो। प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट नरेन्द्र कुमार केरुङ, निश्कल राई र सन्तोष सुब्बा निर्वाचित भएका छन् भने नेकपा एमालेबाट सुहाङ नेम्वाङ, राजेन्द्र कुमार राई र क्षितिज थेबे निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीबाट हर्कराज राई, ध्रुवराज राई र आरेन राई प्रत्यक्षतर्फ निर्वाचित भएका छन्।

समानुपातिकतर्फ कांग्रेसबाट भिष्मराज आङ्देम्बे र गीता कुमारी सेन्दाङ निर्वाचित भएका छन्। एमालेबाट भूमिका लिम्बु सुब्बा र श्रम संस्कृति पार्टीबाट पूर्णप्रसाद लिम्बु समानुपातिकतर्फ निर्वाचित भएका छन्। प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १६५ जना प्रत्यक्षतर्फ र ११० जना समानुपातिकतर्फ निर्वाचित हुन्छन्।

गत निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रुपमा आएका छन्। १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दलको रुपमा आएको छ। कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी तेस्रो दलको रुपमा रहेका छन्। यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं दलको रुपमा रहेको छ भने राप्रपा ५ सिटसहित छैठौं दलको रुपमा छ। एक जना स्वतन्त्र उम्मेदवार पनि छन्।

सबैभन्दा ठूलो दल रास्वपाबाट भने राई र लिम्बुको प्रतिनिधित्व भएको छैन। यस विषयमा रास्वपाका सभापति रवि लामिछानेले माफी मागेका छन्। पार्टीले नवनिर्वाचित सांसदहरूलाई गरेको अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बु समुदायको प्रतिनिधित्व नभएकोमा दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन्। उनले भने, “म दु:खका साथ क्षमायाचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राई, लिम्बू समुदायको प्रतिनिधित्व यसपटक प्रतिनिधिसभामा हुन सकेन। म सभापतिको हैसियतमा क्षमा माग्दैछु र आगामी दिनमा समावेशीतालाई प्राथमिकताका साथ अघि बढाउनेछु।”

प्रकाशित मिति : २०८२ चैत्र ८ गते आइतवार