ताप्लेजुङमा दुईदिन वर्षा पछि मौसम खुलेको छ र डाँडाकाँडा चाँदीझैँ सेताम्मे देखिएका छन्। मैवाखोला गाउँपालिकाको तीजुरे–मिल्के–जलजले क्षेत्र, फक्ताङ्लुङ गाउँपालिका–६ का घुन्सा, फले, ओलाङ्चुङगोला, त्रिवेणी गाउँपालिका र सिदिङ्वा गाउँपालिकाका माथिल्ला भेगमा बाक्लो हिमपात भएको छ। प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्र पनि हिउँले ढाकिएको छ। हिमपातसँगै हिमाली बस्तीमा अत्यधिक चिसो बढेको छ। मौसम खुलेसँगै आन्तरिक पर्यटक पनि हिउँ खेल्न आउने क्रम बढेको छ।