वीरगन्ज । मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले शुक्रबार प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्। सरकार गठनका क्रममा सत्तारुढ दलहरूबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेले समर्थन फिर्ता लिएको मुख्यमन्त्रीलाई लेखिएको पत्रमा उल्लेख छ। एमालेले समर्थन फिर्ता लिएसँगै सरकारमा सहभागी पार्टीका चार जना मन्त्रीले पनि शुक्रबार नै राजीनामा दिएका छन्। राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, खेलकुदमन्त्री लखनदास तत्मा, श्रममन्त्री शारदा थापा र शिक्षामन्त्री मनोजकुमार सिंह रहेका छन्। उनीहरूले मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका हुन्।