काठमाडौं, ३० असोज । विदेशमा रहेका नेपाली नागरिक तथा आफ्नो मतदाता नामावली रहेको जिल्लाभन्दा बाहिरका मतदातालाई मतदानमा सहभागी गराउन निर्वाचन आयोगद्वारा गठित अध्ययन समितिले पोस्टल भोटिङ, इन्टरनेटमा आधारित मतदान र इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोग गर्ने तीन विकल्पसहितको प्रतिवेदन तयार गरेको छ। आयुक्त राजिव सुब्बाको नेतृत्वमा प्राविधिक र आयुक्त गुरु वाग्लेको नेतृत्वमा कानुनी व्यवस्थाको अध्ययन गरेको समितिले प्रतिवेदन प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई बुझाएको हो। समितिले आगामी स्थानीय तहको निर्वाचनमा केही स्थान तथा विदेशस्थित नेपाली नियोगमा ईभीएम परीक्षण गर्ने र पोस्टल भोटिङमार्फत आन्तरिक, अन्तरजिल्ला तथा विदेशमा रहेका मतदातालाई समेट्न सकिने सुझाव दिएको छ। साथै, बंगलादेशमा अपनाइएको मोबाइलमार्फत दर्ता तथा पहिचान प्रमाणीकरण गरी हुलाकबाट मतपत्र पठाउने मिश्रित प्रणाली नेपालमा पनि उपयोगी हुन सक्ने उल्लेख गरेको छ। इन्टरनेट मतदान लागू गर्नुअघि आवश्यक पूर्वाधार, साइबर सुरक्षा, मतदाताको पहिचान प्रमाणीकरण र प्रणालीको विश्वसनीयता सुनिश्चित गर्नुपर्ने समितिको निष्कर्ष छ। यी व्यवस्था लागू गर्न कानुनी संशोधन, निर्वाचन आयोगको प्राविधिक क्षमता अभिवृद्धि तथा गृह र परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायसँग समन्वय आवश्यक पर्नेछ। आयोगले प्रतिवेदनमाथि थप अध्ययन गरी सरकारसँग छलफल अघि बढाउनेछ।