• २०८३ बैशाख ८ गते मङ्गलवार
  • Preeti To Unicode

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

कास्की – आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरहरूलाई लक्षित गर्दै पोखरामा “जाउँ है पोखरा” कार्यक्रम आजदेखि चैत १३ गतेसम्म सञ्चालन हुने भएको छ। यस कार्यक्रमको आयोजना होटेल सङ्घ नेपाल (हान), पोखरा द्वारा गरिएको छ भने नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले समन्वय तथा सहकार्य गर्दै आएको छ।

विगत २२ वर्षदेखि सञ्चालन हुँदै आएको यस अभियानले वीरगञ्ज, हेटौँडा, विराटनगर, इलाम लगायतका सहरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्दै आएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

पोखरामा क्रियाशील पर्यटन व्यवसायी, होटेल व्यवसायी तथा सञ्चारकर्मीसमेतको १९ सदस्यीय टोलीले पूर्वी नेपालका पर्यटन व्यवसायीसँग भेटघाट, छलफल, अन्तरक्रिया र प्रचार सामग्री वितरण गर्नेछ। सो अवसरमा आन्तरिक पर्यटनका विभिन्न आकर्षक प्याकेजसमेत सार्वजनिक गरिनेछ।

अध्यक्ष सुवेदीले भने, “सङ्घकै आयोजनामा हरेक नेपाली नयाँ वर्षका अवसरमा गरिँदै आएको फेवा नव वर्ष महोत्सवको २१औँ संस्करणका लागि पूर्वी नेपालका स्थानीयलाई निम्तो दिनु पनि हाम्रो कार्यक्रमको उद्देश्य हो।” महोत्सव चैत २९ – वैशाख १ सम्म फेवातालको किनारा, लेकसाइड क्षेत्रमा सञ्चालन हुनेछ। महोत्सवले नेपाली कला, संस्कृति र खानालाई जोड्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरालाई पर्यटकको पहिलो रोजाइको गन्तव्य बनाउन यो अभियानले महत्वपूर्ण सहयोग पुर्याउने बताए।

कार्यक्रमको अवसरमा पूर्वी नेपाल र पोखराबीचको पर्यटन साझेदारी बढाउने प्रयास गरिँदैछ। विगतमा पोखराबाट भद्रपुर र विराटनगरसम्म सञ्चालित सिधा हवाई सेवा पुनः नियमितता प्रदान गर्ने र ती सहरबाट पोखरासम्म स्तरीय बस सेवा सञ्चालनका लागि पूर्वका पर्यटन व्यवसायीसँग सहकार्य गर्ने प्रस्ताव पनि राखिनेछ।

पोखरामा करिब १,२०० होटल सञ्चालनमा रहेका छन्, जसमा करिब १५,००० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। होटल क्षेत्रमा करिब छ खर्ब रुपैयाँको लगानी रहेको सङ्घले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ९ गते सोमवार