खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ। नगरपालिका–७ महादेवस्थानमा निर्माण भइरहेको १५ शय्याको अस्पताल २०८० सालमै बनिसक्ने थियो, तर पहिलो चरणको कामसमेत पूरा नभएको र काममा निरन्तरता नदेखिएको कारणले ठेकेदारलाई पटक–पटक जानकारी दिँदा पनि प्रगति नदेखिएपछि यस्तो कदम उठाइएको हो।
नगरपालिकाले चैत ८ गतेदेखि ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी, चाबी, र सवारी दर्ता प्रमाण–पत्र नियन्त्रणमा राखेको छ। मेयर बिमला राईले चालकलाई कार्यकक्षमा बोलाएर चाबी नियन्त्रणमा लिएर प्रहरीलाई समेत बोलाएकी थिइन्। ढिलासुस्ती गर्ने ठेकेदारको गाडी नियन्त्रणमा राखिएको विषयमा जिल्ला प्रशासन कार्यालयलाई पनि लिखित जानकारी दिइएको छ।