१७ वर्षपछि सिंहदरबारमा बस्दै संसद् बैठक

१७ वर्षपछि सिंहदरबारमा बस्दै संसद् बैठक

काठमाडौँ – मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि पुनः सिंहदरबारमै बस्न लागेको छ। प्रतिनिधिसभाको गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि संसद् बैठक अब सिंहदरबारस्थित निर्माणाधीन आफ्नै भवनमा सञ्चालन हुने भएको हो। नवनिर्वाचित २७५ सदस्यको शपथ यही चैत १२ गते दिउँसो २ बजे नयाँ संसद् भवनमा गरिने तय भएको छ।

वि.सं. २०१६ देखि नेपालको संसदीय इतिहास सिंहदरबारस्थित पुरानो संसद् (ग्यालरी बैठक) भवनबाट सुरु भएको थियो। तर, २०६४ चैत २८ गतेको निर्वाचनपछि ६०१ सदस्यीय संविधानसभा गठन हुँदा पुरानो भवन साँघुरो भएपछि संसद्को अधिवेशन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सारिएको थियो।

गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा उक्त सम्मेलन केन्द्रको भवन ध्वस्त भएको थियो। राष्ट्रियसभाको बैठक भने माघ ४ गतेदेखि अस्थायी रूपमा सिंहदरबारस्थित कृषि समितिको बैठक कक्षमा बसेको थियो।

सङ्घीय संसद् सचिवालयले २०६५ जेठदेखि सम्मेलन केन्द्र विकास समितिसँग वार्षिक रु पाँच करोड ६० लाख तिर्ने सम्झौता गरेको थियो, जसमा भाडा र कर्मचारी परिचालन समावेश थियो। प्रत्येक वर्ष १०% वृद्धिसँग यो रकम वार्षिक रु १६ करोड ५० लाख पुगेको थियो। जेनजी आन्दोलनपछि सचिवालयले उक्त सम्झौता रद्द गरेको थियो।

सिंहदरबारस्थित पुतली बगैँचामा २०७६ असोज १ गते शिलान्यास भएको नयाँ संसद् भवनको अधिकांश निर्माण सम्पन्न भइसकेको छ। सिभिल निर्माणमा करिब रु पाँच अर्ब ५०–६० करोड र इन्टेरियर निर्माणमा थप रु दुई अर्ब ३४ करोड खर्च अनुमान गरिएको छ। १५१ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाका भवन, अतिविशिष्ट कक्ष, संसदीय दलका कार्यालय, संसद् सचिवालय भवन, लाइब्रेरी लगायत १२ भवन रहनेछन्। मुख्य भवनभित्र ३५० सिट क्षमताको संयुक्त लबी र चार अतिरिक्त विशिष्ट कक्ष निर्माण भएका छन्।

निर्वाचन आयोगबाट अन्तिम मत परिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभा बैठक बोलाउने तयारी थालिएको छ। नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शपथ गराउने कार्यक्रम तय भएको छ। संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचन परिणाम घोषणा भएको मितिबाट ३० दिनभित्र संसद् अधिवेशन आह्वान गर्नुपर्छ।

संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार, मुख्य हल निर्माण केही समय लाग्ने भएकाले प्रारम्भिक बैठक र शपथका लागि वैकल्पिक बहुउद्देश्यीय हलको व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १० गते मङ्गलवार