काठमाडौँमा- कमलेशकुमार अग्रवाल ले सरकारले हालै सार्वजनिक गरेको १०० बुँदे शासकीय तथा आर्थिक सुधार कार्यसूचीले नेपालको समग्र अर्थतन्त्रलाई आर्थिक समृद्धिको दिशामा डोर्याउने विश्वास व्यक्त गरेका छन्। उनले यो कार्यसूची रामेश्वर खनाल को संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनका आधारमा तयार पारिएको उल्लेख गर्दै यसलाई आमूल परिवर्तन ल्याउने सर्वसम्मत दस्ताबेजका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार कार्यक्रम संरचनात्मक सुधार, व्यावसायिक वातावरण, सार्वजनिक वित्त प्रणाली, वित्तीय क्षेत्र तथा सार्वजनिक प्रशासन सुधारजस्ता पाँच प्रमुख खम्बामा केन्द्रित छ। विश्वव्यापी रूपमा प्रविधिमा आएको तीव्र परिवर्तन र उत्पादन तथा उपभोगको बदलिँदो शैलीलाई समेट्दै आर्थिक गतिविधिलाई सहज बनाउने लक्ष्य राखिएको उनले बताए। साथै, २५ करोड रुपैयाँसम्म लगानी भएका उद्योगलाई साना तथा घरेलु उद्योगमा दर्ता गर्ने र दर्ता प्रक्रिया ४५ दिनभित्र सरल बनाउने निर्णयले युवा, महिला तथा नयाँ उद्यमीलाई व्यवसायतर्फ आकर्षित गर्ने र लगानी वातावरणमा सकारात्मक सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।