काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिक आज बिहान भयानक सवारी दुर्घटना भएको छ।
आज बिहान करिब ६:४५ बजे भएको दुर्घटनामा नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बसले गैंडाकोटबाट भेंडाबारीतर्फ जाँदै गरेको हात्तीगाडी र सोही दिशामा रहेको ट्रकलाई ठक्कर दिएको थियो।
दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। तर तीनवटै सवारीका चालकसहित ८–९ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ट्रक चालक रामेछापका ३२ वर्षीय इन्द्र तामाङ र बस चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ४१ वर्षीय मोहनसिंह बलामी मगरको दुवै खुट्टामा चोट लागेको छ भने हात्तीगाडी चालक चितवनको भरतपुर महानगरपालिका–१२ का ३३ वर्षीय दर्शन काप्रीको छात्तीमा चोट लागेको छ। तीनै जना चालकको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
हाल दुर्घटनामा संलग्न तीनै सवारीसाधन सडक किनारमा राखिएका छन् र यातायात आवागमन भने अवरोध नभएको प्रहरीले जानकारी दिएको छ।