काठमाडौँ- महानगरपालिका ले वीर अस्पताल सँगको सहकार्यमा महिलाहरूका लागि स्तन, पाठेघरको मुख तथा सर्भाइकल क्यान्सरको निःशुल्क परीक्षण कार्यक्रम सुरु गरेको छ। सोमबारदेखि सञ्चालनमा आएको यस कार्यक्रमको उद्घाटन गर्दै कार्यवाहक प्रमुख सुनिता डङ्गोल ले समयमै क्यान्सर पत्ता लगाउन सके उपचार सहज, कम खर्चिलो र जीवनरक्षक हुने बताइन्। उनले महिलाहरूलाई परिवारको जस्तै आफ्नो स्वास्थ्यप्रति पनि सचेत हुन आग्रह गरिन्। विशेषज्ञहरूका अनुसार Human papillomavirus (एचपिभी) पोजेटिभ देखिनु क्यान्सर भएको संकेत नभई सम्भावित जोखिमको संकेत मात्र हो। यस वर्ष थप विभिन्न प्रकारका एचपिभीको परीक्षण गरिने भएको छ। ३० देखि ६० वर्ष उमेर समूहका महिलाले हरेक पाँच वर्षमा कम्तीमा एकपटक यस्तो परीक्षण गराउनुपर्नेमा जोड दिइएको छ। साथै, जोखिम समूहमा परेका महिलाले नियमित जाँच गराउनु अत्यन्त आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्।